
धमाका ब्यूरो..
साउन ९ गते दैलेखको नारायण नगरपालिकाभित्रका सबै विद्यालयका लागि भनेर सेनिटरी प्याड बोकेको ठुलो मालवाहक गाडी दैलेखको त्रिभुवन मावि अगाडी खडा भयो, गाडीमा विभिन्न विद्यालयका सेनिटरी प्याड र बिल सँगै थियो ।
नारायण नगरपालिकाले सेनिटरी प्याड खरिदका लागि भनेर आफ्नो खातामा पैसा आएको छ भनेर मक्ख परेका विद्यालयका प्र.अ.हरुले समेत थाहै पाएनन् बिल र सामान एकैपट आएपछि अचम्ममा परे ।
कतिपयले सामान नलिने घोषणा गरे कतिले कमिसनको चक्करले नारायण नगरपालिकाले अदृश्य रूपमा ठेकेदारको काम गरेको आरोप समेत लगाए ।
लक डाउनको बाहना बनाएर प्रक्रिया विपरीत नारायण नगरपालिका नगर शिक्षा शाखाले नगरपालिका भित्रका १७ विद्यालयका लागि २१ लाख ७९ हजार रकम बरावरको सामग्री एउटै कम्पनीबाट खरिद गरेर विद्यालयमा पठाउने तयारी गरेपछि कुरो सतहमा आएको हो ।
लाखौँ कमिसनको चलखेल हुन सक्ने शिक्षकहरूले नै गुनासो गरेका छन् ।
पहिला कोटेशन गरेर खरिद गर्ने तयारी थियो, कार्यालय प्रमुखले समयमै सामान ल्याउन सक्ने भए काम गर्नुहोस् नत्र हुँदैन भनेर भनेपछि रणनीति परिवर्तन भयो, नारायण नगर शिक्षा शाखाले नगरभित्रका प्र.अ.हरूलाई बोलाएर रकम फ्रिज जानुभन्दा तपाँईहरुको खातामा रकम पठाईदिन्छौं सामान खरिद गरेपछि वा आएपछि रकम बिल अनुसार चेक काट्नुहोला भन्ने सहमति भएको नाम नखुलाउने सर्तमा एक शिक्षकले जानकारी दिएका छन् ।
नारायण नगरपालिका शिक्षा शाखाले कमिसन पाउने नाममा सिधै सप्लायर्सबाट एकमुष्ट खरिद गरेर धमाधम बिल र सामान विद्यालयमा आउन थालेपछि शिक्षकहरू नै आक्रोशित बनेका छन् । कुनै सल्लाह नगरेरै काम गरियो हामीले त्यसको विरोध गरेका हौँ, एकै पटक लाखौँको सामान खरिद गर्दा गुणस्तरपनि हुनुपर्दछ र रेट पनि कम हुनुपर्दछ ।
विद्यालयमा ९ गते मात्र सामान आएको छ । विद्यालय व्यवस्थापन समितिको बैठक बसालेर मात्र भुक्तानी प्रक्रिया गर्नुपर्ने, त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजारमा प्रधानाध्यापक निरक तारामीले बताए । सामान ल्याउने विषयमा छलफल भएपनि ‘विद्यालयले कोटेशन तथा सूचना निकालेर खरिद गर्ने कार्ययोजना रहेको थियो बिल र सामान सँगसँगै आएपछि छलफल गर्नुपर्ने विषय बनेको तारामीको भनाई छ ।
सामान खरिदको लागि विद्यालयको खातामा पैसा पठाएका हौ, विद्यालयले नै सेनेटरी प्याड खरिद गर्नुपर्ने हो । नारायण नगरपालिकाको कुनै हात नभएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताए ।
शिक्षा शाखाका साथीहरूले सहजीकरण गरिदिएको हुनसक्छ तर खरिदबारे आफूहरूलाई कुनै थाहा नभएको नेपालीको भनाई छ । “नगरपालिकाले खरिद गरेर विद्यालयमा पठाउन नमिल्ने हो कसले नगरपालिकाको नाममा बदमासी गर्र्यो खोजीको विषय हुन्छ । केही जनप्रतिनिधिहरुले कर्मचारी माथि आरोप लगाएको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीको भनाई छ । ”
नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले लक डाउनले समस्या भएपछि प्रअहरुलाई नगरपालिकामा बोलाएर बिद्यार्थीहरुको स्वास्थ्य सुरक्षाका लागि आएको बजेट फ्रिज फाल्न नहुने भन्दै विभिन्न विद्यालयको खातामा रकम जम्मा गरिदिएको र सामान खरिदमा एकरूपता होस र गुणस्तरीयता कायम होस भनेर एउटै कम्पनीबाट खरिद गर्ने बारेमा सहजीकरण गरिदिएको बताएका छन् ।
“राम्रो होला भनेर काम गरेको हो अहिले व्यक्तिगत रूपमा बदनाम गराउने काम भएको छ । नियत गलत हैन शाहले भने । बुझाई गलत भएको छ , सामान खरिद गर्ने पुरै अधिकार विद्यालयको हो । अहिले छानिएको सप्लायर्सबाट लिने नलिने जिम्मा स्वयं विद्यालयको रहेको शाहको तर्क छ । ”
रारा मेडिसिन सप्लायर्स सुर्खेतबाट सेनिटरी प्याड ल्याइएको खुलेको छ । खरिदका लागि भन्दै नगरपालिकाले सिधै विद्यालयको खातामा २ देखि ६ लाख सम्म रकम जम्मा गरिदिएको छ । रकम जम्मा भएको जानकारी पाएका एक शिक्षकले खरिद प्रक्रियाको बारेमा भने कुनै जानकारी नभएको बताएका छन् । नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले आफू छोरा बिरामी भएकोले नेपालगन्ज गएको र यसवारे कुनै पनि जानकारी नभएको बताएका छन् । आइतबार जिल्ला आएर यसवारे छानबिन गर्ने खड्काको भनाई छ । असार ९ गतेसम्म कुनै पनि विद्यालयमा सामान पुगेको छैन । नारायण नगर शिक्षा शाखाले आपतकालिन रूपमा ११ गते प्रअ बैठक बोलाएको जानकारी एक शिक्षकले दिएका छन् ।











